झुम्का मिनी पार्क तथा रामधुनी सडक क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न

सुनसरी — आज मिति २०८३ साल जेठ ३ गते आइतबार बिहान ७ बजे सिद्धार्थ टोल र भानु टोल विकास अन्तर्गतको संयुक्त भेलाबाट झुम्कास्थित मिनी पार्क तथा झुम्का–रामधुनी सडक क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । वातावरण संरक्षण, सार्वजनिक स्थलको सौन्दर्य वृद्धि तथा समुदायमा सरसफाइप्रति जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानीयवासी, टोल विकास समितिका पदाधिकारी, समाजसेवी, युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले सडक किनार, नाली, सार्वजनिक स्थल तथा मिनी पार्क क्षेत्रमा जम्मा भएको फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए । साथै पार्क क्षेत्रको झारपात सफा गर्ने, प्लास्टिकजन्य फोहोर हटाउने तथा सडक आसपासको वातावरण सफा बनाउने कार्य समेत गरिएको थियो ।
स्थानीय बासिन्दाले पछिल्लो समय सार्वजनिक स्थलहरूमा बढ्दै गएको फोहोर व्यवस्थापन चुनौती बनेकाले सामूहिक रूपमा सरसफाइ अभियान सञ्चालन गरिएको बताएका छन् । कार्यक्रममा बोल्दै सहभागीहरूले स्वच्छ वातावरण निर्माणका लागि प्रत्येक नागरिक जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
आयोजक समितिका अनुसार आगामी दिनमा पनि नियमित रूपमा यस्ता सामाजिक, वातावरणीय तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । स्थानीयवासीले सामूहिक प्रयास र जनसहभागिताले टोललाई सफा, हरियालीयुक्त र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।



