भोक्राहा नरसिंहमा कांग्रेसको अध्यक्षको टिकट कसलाई? पाँच दाबेदार बारे चर्कियो चर्चा

भोक्राहा नरसिंह (सुनसरी), साउन ३ — आगामी स्थानीय तह निर्वाचनको माहोल तातिँदै जाँदा भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका सम्भावित उम्मेदवारबारे राजनीतिक चर्चा तीव्र बन्दै गएको छ। पार्टीले हालसम्म आधिकारिक उम्मेदवार घोषणा नगरे पनि स्थानीय राजनीतिक वृत्तमा पाँच नेताको नाम प्रमुख दाबेदारका रूपमा चर्चामा रहेको छ।
चर्चामा रहेका नामहरूमा वर्तमान गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, पूर्व संविधानसभा सदस्य तथा कांग्रेसका वरिष्ठ नेता सूर्यदेव दास उराँव, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा २०७९ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदको टिकटका प्रमुख आकांक्षी सत्रुघन प्रसाद यादव, वडा नं. ४ का लगातार दुई कार्यकाल निर्वाचित वडा अध्यक्ष हारुन अन्सारी तथा राजेन्द्र मेहता रहेका छन्।
वर्तमान अध्यक्ष अजमल अख्तर आजाद पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेको चर्चा छ। गाउँपालिकाको नेतृत्व सम्हाल्दाको अनुभव, प्रशासनिक कार्यसम्पादन र संगठनभित्रको प्रभावका आधारमा उनलाई बलिया दाबेदारमध्ये एकका रूपमा हेरिएको स्थानीय नेताहरू बताउँछन्।
त्यसैगरी, पूर्व संविधानसभा सदस्य तथा वरिष्ठ नेता सूर्यदेव दास उराँवको लामो राजनीतिक अनुभव, पार्टीप्रतिको योगदान र वरिष्ठ नेताको छविका कारण उनको नाम पनि सम्भावित उम्मेदवारको सूचीमा रहेको छ।
महाधिवेशन प्रतिनिधि शत्रुघ्न प्रसाद यादवले २०७९ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदको टिकटका लागि बलियो दाबी गरेका थिए। पार्टी संगठनमा निरन्तर सक्रियता, कार्यकर्तासँगको निकट सम्बन्ध र संगठन विस्तारमा सक्रिय भूमिकाका कारण यसपटक पनि उनी प्रभावशाली दाबेदारका रूपमा चर्चामा रहेको स्थानीय कार्यकर्ताहरूको भनाइ छ।
यता, वडा नं. ४ का लगातार दुई कार्यकाल निर्वाचित वडा अध्यक्ष हारुन अन्सारी पनि स्थानीय जनाधार, विकास निर्माणमा गरेको काम तथा संगठनात्मक सक्रियताका आधारमा अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा हेरिएका छन्। त्यस्तै, राजेन्द्र मेहताको नाम पनि कांग्रेसभित्र वैकल्पिक नेतृत्वका रूपमा चर्चामा रहेको छ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार नेपाली कांग्रेसले उम्मेदवार छनोट गर्दा जनाधार, संगठनभित्रको स्वीकार्यता, राजनीतिक अनुभव, समावेशी प्रतिनिधित्व तथा निर्वाचन जित्ने सम्भावनालाई प्रमुख आधार बनाउन सक्ने अपेक्षा गरिएको छ।
यद्यपि, पार्टीले हालसम्म आधिकारिक उम्मेदवारको नाम सार्वजनिक नगरेकाले अध्यक्ष पदको टिकट कसले पाउने भन्ने विषय अन्तिम निर्णयपछि मात्र स्पष्ट हुनेछ। हाल भइरहेका सबै चर्चा स्थानीय राजनीतिक बहस र अनुमानका रूपमा मात्रै हेरिएका छन्।





