अत्यधिक वर्षाको जोखिमपछि २५ जिल्लामा दुई दिन यातायात सञ्चालनमा रोक

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा समेत देखिन थालेपछि देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। मौसममा आएको परिवर्तनसँगै पश्चिम नेपालका २५ जिल्लामा दुई दिनसम्म यातायात सञ्चालन नगर्न आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गर्दै शुक्रबार र शनिबार अत्यधिक वर्षा हुने पूर्वानुमान गरिएका २५ जिल्लामा यातायात सञ्चालनमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
अत्यधिक वर्षाको जोखिममा रहेका जिल्लाहरू कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा रहेका छन्। ती जिल्लामा दुई दिनसम्म यातायात सञ्चालन नगर्न भनिएको छ।
सुदूरपश्चिम प्रदेशका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कर्णाली प्रदेशका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत जोखिममा रहेका छन्। त्यसैगरी लुम्बिनी प्रदेशका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङ्जामा पनि अत्यधिक वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
यसैबीच, ३० जिल्लामा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोसी र मधेस प्रदेशबाहेक अन्य पाँच प्रदेशका ती जिल्लालाई मध्यम जोखिमको क्षेत्रमा राखिएको छ। यी जिल्लामा रातको समयमा यातायात सञ्चालन नगर्न भनिएको छ। भने, दिउँसो सवारीसाधन सञ्चालन गर्ने वा नगर्ने विषयमा स्थानीय अवस्थाको मूल्यांकन गरी जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टले आवश्यक निर्णय लिनुपर्नेछ।
त्यस्तै, बाँकी २२ जिल्लामा सामान्यदेखि केही मात्रामा वर्षा हुने सम्भावना रहेको जनाइएको छ। यी जिल्लामा कोसी र मधेस प्रदेशका अधिकांश क्षेत्रका साथै बागमती प्रदेशका मकवानपुर र सिन्धुली पनि रहेका छन्। ती क्षेत्रमा भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आग्रह गरिएको छ।





