इटहरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

२८ भदौ, इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा इनरुवा नगरपालिका–३ निवासी २९ वर्षीय मोटरसाइकल चालक पारस थापा र सोही ठाउँका ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको हो। रेग्मी जिल्ला प्रशासन कार्यालय, सुनसरीमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ।
आइतबार बिहान करिब २ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा चालक थापा र पछाडि सवार रेग्मी गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोपा अस्पताल लगिएको थियो। उपचारकै क्रममा दुवै जनाको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





