सुनसरीमा लागूऔषध विरुद्ध प्रहरीको कडा अभियान : १७ हजार केजीभन्दा बढी गाँजा बरामद, ६०२ जना पक्राउ

इनरुवा, सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै ठूलो परिमाणमा गाँजासहित विभिन्न लागूऔषध बरामद गरेको जनाएको छ।
शुक्रबार इनरुवामा आयोजित पत्रकार सम्मेलनमा सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबे ले चालु आर्थिक वर्षको हालसम्म १७ हजार १५२.१४६ केजी गाँजा बरामद गरिएको जानकारी दिए।
प्रहरीका अनुसार यस अवधिमा १ हजार ५६३.६९ ग्राम ब्राउन सुगर, ३२ हजार ७३ थान ट्याब्लेट तथा क्याप्सुल, साथै १३० बोतल डाइलेक्स डिसी समेत बरामद गरिएको छ। लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ६०२ जना व्यक्तिलाई पक्राउ गरिएको छ भने ३९७ वटा मुद्दा दर्ता भइसकेका छन्।
यसैबीच, प्रहरीले विभिन्न कारबाहीका क्रममा ११२ वटा सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। चालु आर्थिक वर्षमा ४३६ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेका प्रतिवादीहरूबाट २१९ वर्ष ४ महिना २८ दिन बराबरको कैद सजाय कार्यान्वयन हुनुका साथै १ करोड ३२ लाख ३७ हजार ४७० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पाँच वर्षभन्दा बढी कैद सजाय तोकिएर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई पनि पक्राउ गर्न सफलता मिलेको छ।
यस्तै, नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध भन्सार चोरी निकासी नियन्त्रण अभियानअन्तर्गत चालु आर्थिक वर्षमा हालसम्म ३ करोड ४ लाख ४१ हजार २६० रुपैयाँ राजस्व सङ्कलन भएको छ। चोरी तथा तस्करीसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा २१ जना व्यक्ति र ४५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक थेबेका अनुसार सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि, लागूऔषध कारोबार तथा अवैध तस्करी नियन्त्रणका लागि निगरानी र सुरक्षा अभियानलाई अझ प्रभावकारी बनाइएको छ।
#सुनसरी #इनरुवा #लागूऔषधनियन्त्रण #नेपालप्रहरी #गाँजाबरामद #ब्राउनसुगर #सीमासुरक्षा #अपराधनियन्त्रण #समाचार #RoutineofKoshiPradesh





