सुनसरी गोली प्रकरण: सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारमाथि अनुसन्धान जारी

पुनम मेहता, सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको घटनाबारे अनुसन्धान तीव्र पारिएको छ । घटनासँग सम्बन्धित सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार नवराज खतिवडासँग जिल्ला प्रहरी कार्यालय सुनसरीले सोधपुछ गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेवका अनुसार हवल्दार खतिवडा बिहीबारदेखि नै प्रहरी कार्यालयमा उपस्थित छन् । उनीसँग घटनाका विभिन्न पक्षबारे सोधपुछ भइरहेको एसपी थेवले जानकारी दिए ।
उनका अनुसार, “बिहीबारदेखि नै उहाँ हाम्रो कार्यालयमै हुनुहुन्छ । घटनासम्बन्धी तथ्य संकलन र सोधपुछको प्रक्रिया जारी छ।”
घटना बुधबार मध्यराति सुनसरीको कोशी गाउँपालिका–१ मा भएको हो । लौकही नाकाबाट चिनी बोकेर आएका तीन वटा अटो रिक्सा सशस्त्र प्रहरीको निगरानीमा परेपछि स्थिति तनावग्रस्त बनेको थियो । सोही क्रममा चलेको गोली लागेर ४५ वर्षीय विजय साहको ज्यान गएको थियो ।
सशस्त्र प्रहरी बलले भने तस्करीमा संलग्न समूहले पहिला गोली प्रहार गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गर्दा उक्त घटना भएको दाबी गर्दै आएको छ । घटनाको यथार्थ पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ र अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको प्रहरीले जनाएको छ ।





