भोक्राहा नरसिंह गाउँपालिकाले सार्वजनिक गर्यो ६० करोड ३६ लाख ५० हजारको बजेट

सुरेन्द्र मेहता / इनरुवा।भोक्राहा नरसिंह गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६० करोड ३६ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। असार ८ गते आइतबार गाउँपालिकाको सभा हलमा आयोजित १८औँ गाउँसभा अधिवेशनमार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको हो।
गाउँसभा अधिवेशनमा गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, भौतिक संरचना र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
अध्यक्ष अजादका अनुसार, कृषि पेशामा आधारित किसानहरूलाई प्रोत्साहन गर्न कृषि मोटर, बोरिङ, निःशुल्क स्वास्थ्य बीमा, सडक तथा बाटो कालोपत्रे र मर्मत, महिलाको उद्यमशीलता तथा क्षमतामा अभिवृद्धि, ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता, पोलबत्ती जडान लगायतका कार्यक्रमलाई निरन्तरता दिइने छ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँ इकाइ सभापति युवराज दाहाल, गाउँपालिका उपाध्यक्ष सुनिता उराँव, प्रमुख प्रशासनिक अधिकृत विनोद अधिकारी, वडा नं. १ का अध्यक्ष लक्ष्मि मेहता, वडा नं. २ का आलम अन्सारी, वडा नं. ३ का धिरेन्द्र यादव, वडा नं. ४ का हारुण अन्सारी, वडा नं. ५ का हबीब मन्सुरी, वडा नं. ६ का सेराजुद्दिन मन्सुरी, वडा नं. ७ का बोवालाल यादव, वडा नं. ८ का उस्मान मियाँ, वडा सदस्यहरू, कर्मचारीहरू तथा पत्रकारहरूको उपस्थितिमा गाउँसभा सम्पन्न भएको थियो।
सञ्चार सेवामा समर्पित पत्रकार मेहतालाई गाउँपालिकाबाट सम्मान
भोक्राहा नरसिंह गाउँपालिकाको १८औँ गाउँसभामा पत्रकार सुरेन्द्र मेहता सहित उत्कृष्ट पाँच जना कर्मचारीहरूलाई सम्मान गरिएको छ।
नेपाल पत्रकार महासंघ, सुनसरीका जिल्ला कार्यक्रम समिति सदस्य सुरेन्द्र मेहतालाई सञ्चार क्षेत्रमा सक्रिय रही समाज परिवर्तनमा प्रभावकारी योगदान दिएको भन्दै सम्मान गरिएको हो।
पत्रकार मेहताको निरन्तर सेवाले समग्र पत्रकारिता क्षेत्रलाई गौरवान्वित तुल्याएको भन्दै आगामी दिनमा समाज र देशको हितमा सञ्चार माध्यममार्फत अझ सफल योगदान दिन प्रेरणा मिलोस् भन्ने आशयका साथ गाउँपालिका अध्यक्ष अजमल अख्तर, उपाध्यक्ष सुनिता कुमारी उराँव र प्रमुख प्रशासनिक अधिकृत विनोद अधिकारीले दोसल्ला ओढाई, अबिरको टीका र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए।