डिलबाट धकेलिएको आरोप: संखुवासभामा ६ वर्षीया बालिकाको शवसहित अभिभावक प्रहरी नियन्त्रणमा

९ जेठ, खाँदबारी | संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया युनिका तामाङको शव दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरीले शवसहित उनका अभिभावकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले विहीबार बालिकाको शव नियन्त्रणमा लिई खाँदबारीस्थित जिल्ला अस्पतालको शवगृहमा राखेको हो।
प्रहरीका अनुसार वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी कल्पना तामाङबीच घरायसी विवाद भएको थियो। सो क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको आरोप छ। गम्भीर घाइते युनिकालाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। उपचारका क्रममा जेठ ७ गते उनको मृत्यु भएको थियो।
शव दाहसंस्कारका लागि अस्पतालबाट गाउँ ल्याउने क्रममा प्रहरीले शवसहित उनका बुवा गोपाल तामाङ र भाइबुहारी कल्पनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।
“अनुसन्धानका लागि दुबैजनालाई नियन्त्रणमा लिइएको छ। आजै अदालतमा उपस्थित गराई म्याद लिने प्रक्रिया अघि बढाइएको छ,” श्रेष्ठले भने।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
this is good for nepal news community