वट सावित्री ब्रत जेठ १२ गते सोमबार: मैथिली परम्परा अनुसार श्रद्धा, विधि र आस्थाको तयारी तीव्र

चुन चुन झा / सुनसरी – आउँदो सोमबार, २०८२ जेठ १२ गते, नेपालका विभिन्न जिल्लाहरूमा विशेषगरी मैथिली समुदायका विवाहित महिलाहरूले श्रद्धा र परम्पराका साथ वट सावित्री ब्रत मनाउने तयारी गरिरहेका छन्। हिन्दू धर्मशास्त्र अनुसार सावित्रीले यमराजबाट आफ्नो पति सत्यवानको प्राण फर्काएको पौराणिक घटनालाई स्मरण गर्दै विवाहित महिलाहरूले यो ब्रत लिने परम्परा रहिआएको छ।
यस वर्ष ब्रतको पूजनका लागि उत्तम समय बिहान ५:३० देखि ९:३० बजेसम्म रहेको पञ्चाङ्गले जनाएका छन्। वर्तमानमा ब्रतालु महिलाहरू पूजाका सामग्रीहरू — बाँसको पंखा, माटोको भाँडा, मिठाइ, फलफूल, कपडा, धूप–दीप, सुगा, लसुन आदि — को किनमेल तथा तयारीमा जुटेका छन्।
जनकपुरधाम, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, सुनसरी, मोरङ, झापा लगायतका जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ। साथै, काठमाडौं उपत्यकामा बसोबास गर्ने तराई क्षेत्रका समुदायहरू पनि यो दिनलाई विशेष रूपमा मनाउने तयारीमा छन्।
मैथिली परम्परा अनुसार महिलाहरू वट वृक्ष (पीपल) मुनि भेला भई विधिपूर्वक पूजन गर्छन्। उनीहरू पीपलको सातपटक फेरा लगाउँदै सावित्री–सत्यवानको कथा सुन्छन् र दिनभर उपवास राख्छन्। साँझपख विशेष पूजन गरिन्छ र धर्म–कथाको श्रवण तथा गायन गरिन्छ।
यो पर्वले धार्मिक आस्था मात्र नभई महिलाहरूबीचको सामाजिक एकता, पारिवारिक समर्पण र सांस्कृतिक जगेर्नालाई पनि सशक्त रूपमा अभिव्यक्त गर्छ। परम्परागत संस्कारको निरन्तरतासँगै सामूहिक संस्कृतिको संरक्षणमा वट सावित्री ब्रतले महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।