प्रहरीका लागि स्वास्थ्य उपचारमा छुट, कोशी प्रहरी र बिराट मेडिकलबीच सम्झौता

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकिसिनवारी तथा बिराट नर्सिङहोम प्रा.लि. विराटनगरबीच प्रहरी कर्मचारीहरूका लागि स्वास्थ्य सेवामा विशेष छुट दिने सहमति भएको छ। वैशाख १२ गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौतामा नेपाल प्रहरीका हाल कार्यरत प्रहरी कर्मचारी, अवकाश प्राप्त प्रहरी, अमर प्रहरीका परिवार तथा उनीहरूका आश्रित सदस्यहरूलाई विभिन्न रोगहरूको उपचारमा शुल्क छुट सुविधा दिने उल्लेख गरिएको छ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) राजन अधिकारी र बिराट मेडिकल कलेज तथा बिराट नर्सिङहोम प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डा. निकिता कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौतापछि प्रमुख अतिथि डिआईजी अधिकारीले बदलिँदो सुरक्षापरिस्थितिमा प्रहरीले दिनरात खटिएर देशको सुरक्षा गर्दै आएको उल्लेख गर्दै प्रहरीहरूका लागि स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक रहेको धारणा राखे। “रोग लागेपछि मात्र होइन, निरोगी रहन नियमित स्वास्थ्य परीक्षण आवश्यक छ,” उहाँले भने, “स्वास्थ्य उपचारमा सहुलियत दिएर अस्पतालले प्रहरीप्रति देखाएको सहयोगप्रति आभार प्रकट गर्दछु।”
बिराट नर्सिङहोमका प्रशासन प्रमुख पदम विनाडीले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको योगदान अतुलनीय रहेको भन्दै स्वास्थ्य सुविधा छुटले प्रहरीको उपचारमा सहजता आउने विश्वास व्यक्त गरे।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, सीनियर तथा जुनियर प्रहरी अधिकृतहरू र अस्पतालका पदाधिकारीहरूको उपस्थिति थियो।