झुम्का कारागारमा स्वास्थ्य संकट, थप १३ कैदीबन्दी अस्पताल भर्ना

सुनसरी – सुनसरीको झुम्का कारागारमा पछिल्ला चार दिनमै तीन कैदीबन्दीको मृत्यु भएपछि कैदीहरूको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ। लगातार ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ताजस्ता लक्षण देखिएपछि कैदीबन्दीबीच रोग फैलिएको आशंका गरिएको छ।
बुधबार दिउँसो अचानक बेहोस भएका सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको इनरुवा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। उनलाई केही दिनदेखि उच्च ज्वरो आएको थियो।
यसअघि सोमबार गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारकै क्रममा मृत्यु भएको थियो। दुवैजनामा श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको थियो।
एकैपटक तीन कैदीबन्दीले ज्यान गुमाएपछि बुधबार कारागार परिसरमै स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको कारागार प्रशासनले जनाएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार ब्लक–ए र ब्लक–बीमा रहेका कैदीको स्वास्थ्य रिपोर्ट प्राप्त भएपछि रोगको कारण स्पष्ट हुने छ।
हाल झुम्का कारागारमा क्षमता १ हजार ६ सय भए पनि करिब १ हजार ८ सय कैदीबन्दी राखिएका छन्। विशेषगरी बी ब्लकमा बस्ने कैदीमध्ये धेरैजना बिरामी देखिएका छन्।
गम्भीर अवस्थामा रहेका १३ जनालाई बिहीबार धरानस्थित बीपी प्रतिष्ठानमा भर्ना गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए। चिकित्सकहरूले यसलाई भाइरल ज्वरो हुन सक्ने आशंका व्यक्त गर्दै तत्काल आत्तिनुपर्ने अवस्था भने नभएको बताए।
कारागार प्रमुख सुवास लामिछाने बिदामा रहेकाले स्वास्थ्य शिविर सञ्चालनमा ढिलाइ भएको बताइन्छ।