८ मंसिर २०८१, शनिबार | Email:- [email protected] | [email protected]
"विश्वकप छनोट खेलाडीहरूलाई कञ्चनपुरमा सम्मान: प्रदेश सरकारद्वारा खेलकुद पूर्वाधार विकासको प्रतिबद्धता" - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)Nepal Rastra TVUncategorizedकर्णाली प्रदेशखेलकुदताजा समाचारदेशप्राविधिक समाचारफिचरमनोरञ्जनमुख्य समाचारसफलताको कथासाहित्य/ सिर्जनासूचना / प्रबिधिस्थानीय तह

“विश्वकप छनोट खेलाडीहरूलाई कञ्चनपुरमा सम्मान: प्रदेश सरकारद्वारा खेलकुद पूर्वाधार विकासको प्रतिबद्धता”

"यु–१९ महिला क्रिकेट टोलीका सदस्यहरूलाई नगद र दोसल्लासहित सम्मान, खेलकुद विकासमा प्रदेश सरकारको पहलको घोषणा"

दोधारा चाँदनी (कञ्चनपुर) – विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यहरूलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ।

महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई आज जनही रु ३०/३० हजार नगदसहित सम्मान गरेको हो। त्यसैगरी, नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दु रावललाई रु ५० हजार र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई रु ३० हजार नगदसहित दोसल्ला ओढाएर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सम्मान गरे।

खेलाडीलाई सम्मान गर्दै मन्त्री थापाले खेलाडीहरूको मेहनतले देशको प्रतिष्ठा जोगिएको उल्लेख गर्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पहल गरिने बताए। उनले भने, “प्रदेश सरकारले खेलकुदको विकासका लागि पूर्वाधार निर्माणमा पहल गर्छ। यहाँ पूर्वाधारको अभाव भए पनि खेलाडीहरूले गरेको मेहनत प्रशंसनीय छ। अब सरकार खेलकुद पूर्वाधार विकासमा ध्यान दिनेछ।”

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले सरकारले क्रिकेटको विकासमा जोड दिनुपर्नेमा जोड दिए। उनले भने, “खेलाडीहरूको विकासका लागि क्रिकेट सङ्घले विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ। कञ्चनपुरका धेरै खेलाडी राष्ट्रिय टोलीबाट खेलिरहेका छन्।”

उनले खेलाडीका लागि खेलमैदान पहिलो आवश्यकता रहेको उल्लेख गर्दै प्रदेश सरकारले खेलमैदान निर्माणमा सहयोग गर्नुपर्ने बताए। “यहाँ ठूला प्रतियोगिता सञ्चालन गर्नका लागि उपयुक्त खेलमैदान छैन। स्थानीय कबर्ड हलमा प्रतियोगिता गराउनुपरेको छ,” उनले भने। “तीनै तहका सरकारले खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी गर्न आवश्यक छ।”

होली फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भुपालसिंह विष्टले खेलाडीहरूको हौसलाका लागि सम्मान गरिएको बताए।

गत महिना युनाइटेड अरब इमिरेट्स (युएई)मा आयोजित आइसिसी १९ वर्ष मुनिको महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको थियो। सन् २०२५ को जनवरीमा मलेसियामा हुने १९ वर्ष मुनिको महिला विश्वकपमा नेपालले सहभागिता जनाउनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button