मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५: पर्यटन प्रवर्द्धनको लागि नयाँ युगको थालनी
आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आगामी पुस १७ गतेबाट औपचारिक रूपमा 'मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५' सुरु हुँदैछ।
खोटाङ – आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आगामी पुस १७ गतेबाट औपचारिक रूपमा ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ सुरु हुँदैछ।
मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजनमा आयोजित हुने यस कार्यक्रमको सफलता सुनिश्चित गर्न आन्तरिक तयारीलाई तीव्रता दिइएको छ।
‘मुन्दुम ट्रेल’ को स्तरोन्नति र पर्यटन प्रवर्द्धनका लागि आयोजित ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ को लक्ष्य करिब एक लाख पर्यटक भित्र्याउनु रहेको आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिए।
‘मुन्दुम ट्रेल पर्यटकका लागि भर्जिन गन्तव्य भएकोले कम्तीमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ, यसका लागि हामी आन्तरिक तयारीलाई तीव्रता दिएका छौँ,’ उनले भने। ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ को मुख्य व्यवस्थापन समितिको बैठकमा विभिन्न स्थानीय तहलाई आ-आफ्नो क्षेत्रमा पर्यटकलाई लक्षित गर्दै महोत्सव र पर्यटकीय क्रियाकलाप आयोजना गर्न प्रेरित गरिने निर्णय भएको पनि उनले जानकारी दिए।
यस अवसरमा खोटाङको केपिलासगढी गाउँपालिकामा ‘हनी हन्टिङ’ महोत्सव र गोठ स्टे (गोठवास) महोत्सव, साकेला गाउँपालिकामा उभौली साकेला र अन्य सांस्कृतिक महोत्सव, भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा गुराँस, घोडचढी र फिल्म सुटिङ महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नछोङ (धामी) महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गरिने राईले बताए।
यस कार्यक्रमको अवसरमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकका लागि मुन्दुम ट्रेल आसपासका स्थानीयहरूले होम–स्टे (घरवास) र गेष्ट हाउस (पाहुनाघर) निर्माण गरिरहेका छन्।
नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा समावेश ‘मुन्दुम ट्रेल’ लगभग १०७ किलोमिटर लामो छ। प्राकृतिक रूपमा आकर्षक स्थल भएको यस ट्रेलको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानी भइरहेको छ।
‘मुन्दुम ट्रेल’ पदमार्गको दाँया-बाँया चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्ने लगायतका आधारभूत भौतिक पूर्वाधारको काम भइरहेको छ। खोटाङ र भोजपुरको पर्यटन प्रवर्द्धन र विकासमा ‘मुन्दुम ट्रेल’ को योगदान महत्वपूर्ण रहेको खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामकुमार राईले बताए।
साकेला गाउँपालिका क्षेत्रभित्र पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गखण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको ३५ प्रतिशत गरी ९१ लाख ४५ हजार २५२ रुपैयाँमा ‘मुन्दुम ट्रेल’ स्तरोन्नति गरिएको छ। त्रिपक्षीय सम्झौताका आधारमा निर्माण सुरु गरिएको यस पदमार्गको अवधारणा २०७५ पुस २१ गते औपचारिक रूपमा अघि सारिएको थियो।
प्राकृतिक सौन्दर्यको रमाइलो र किराती संस्कृति अध्ययनका लागि आउने पर्यटकको लागि ‘मुन्दुम ट्रेल’ आकर्षक गन्तव्य बन्न पुगेको छ। यो ट्रेल पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बू र सङ्खुवासभा सीमामा फैलिएको छ र किराती समुदायको ऐतिहासिक र सांस्कृतिक धरोहरसँग सम्बन्धित छ।
खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको यो पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी र चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर समाप्त हुन्छ। यो ट्रेल पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन र नेपाली पर्यटकका लागि १० दिन लाग्ने अनुमान छ।
‘मुन्दुम ट्रेल’ पदमार्गमा अधिकांश किराती समुदायका बस्ती रहेको र उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’ मा उल्लेखित जीवनशैली, संस्कार र संस्कृतिबारे जानकारी दिइने भएकाले यसको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो।
अर्को आकर्षण भनेको यस क्षेत्रका विशाल घाँसे मैदान, चौरीखर्क र भेडीगोठ हुन्, जसका साथै घोडचढी (घोडा चढ्न पाउने व्यवस्था) पनि पर्यटकलाई आकर्षित गर्दै आएको छ। यहाँ विभिन्न प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, जडीबुटी र घना जङ्गल अवलोकन गर्न सकिन्छ।
साथै, मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र अन्य जङ्गली जनावरसँग लुकामारी खेल्ने अवसर पनि पर्यटकलाई प्रदान गरिन्छ।
‘मुन्दुम ट्रेल’ पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै स्थानीय गोठवालाले खानपिन र बस्ने व्यवस्था मिलाउँदै आएका छन्। परम्परागत गोठलाई स्तरोन्नति गरेर गोठ-स्टे (गोठवास) को व्यवस्था गरिएको छ, जसमा स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु र सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिइन्छ।