२१ माघ २०८२, मंगलवार | Email:- [email protected] | [email protected]
मोरङमा चुनावी तापक्रम बढ्दो, ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारको मनोनयन - Routine Of Koshi Pradesh
Banner NewsBanner news (with photo)अन्तर्वार्ताताजा समाचारदेशप्रदेश १प्राविधिक समाचारफिचरबिचारराजनीतिविचार दृष्टिकोणसाहित्य/ सिर्जनासूचना / प्रबिधिस्थानीय तह

मोरङमा चुनावी तापक्रम बढ्दो, ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारको मनोनयन

मोरङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटा निर्वाचन क्षेत्रमा कुल ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मङ्गलबार विभिन्न निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गरेका हुन्।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७ जना, क्षेत्र नम्बर ३ मा २१ जना, क्षेत्र नम्बर ४ मा २१ जना, क्षेत्र नम्बर ५ मा २२ जना र क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ।

मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा उर्लाबारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा १८ जनाले मनोनयन दर्ता गराएका छन्। यस क्षेत्रमा नेपाली कांग्रेसबाट खड्गबहादुर फागु, नेकपा एमालेबाट घनश्याम खतिवडा, नेपाली कम्युनिष्ट पार्टीबाट कुलप्रसाद साम्वा तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट यज्ञमणि न्यौपाने चुनावी प्रतिस्पर्धामा छन्। गत निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका थिए।

त्यसैगरी, मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा १७ जनाले उम्मेदवारी दिएका छन्। यहाँ नेपाली कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, नेकपा एमालेबाट दिलिप बगडिया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रवीर राई तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्णकुमार कार्की चुनावी मैदानमा उत्रिएका छन्। यस क्षेत्रमा चार जना स्वतन्त्र उम्मेदवार पनि रहेका छन्। अघिल्लो निर्वाचनमा यहाँबाट ऋषिकेश पोखरेल विजयी भएका थिए।

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा २१ जनाले मनोनयन दर्ता गरेका छन्। यसमध्ये १६ राजनीतिक दल र पाँच जना स्वतन्त्र उम्मेदवार छन्। यहाँ नेकपा एमालेबाट ईरान राई, नेपाली कम्युनिष्ट पार्टीबाट देउमान सम्बाहाम्फे, नेपाली कांग्रेसबाट सुनिलकुमार शर्मा, श्रम संस्कृति पार्टीबाट अमिर मगर, उज्यालो नेपाल पार्टीबाट मित्रसेन योञ्जन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश कार्की, राप्रपाबाट प्रेमप्रसाद सुवेदी तथा नेकपा (माओवादी)बाट खड्गबहादुर कार्कीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अमनलाल मोदी, नेपाली कांग्रेसका गुरुराज घिमिरे, नेकपा एमालेका जीवन घिमिरेलगायत २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा २२ जनाले उम्मेदवारी दिएका छन्। यहाँ नेपाली कांग्रेसबाट फुलकुमार लालवानी, नेकपा एमालेबाट मनोज अग्रवाल, नेपाली कम्युनिष्ट पार्टीबाट शिवकुमार मण्डल, राष्ट्रिय ऊर्जाशील पार्टीबाट योगेन्द्र मण्डल तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा झालगायत चुनावी मैदानमा छन्।

यसैगरी, मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा नेपाली कांग्रेसबाट डा. शेखर कोइराला, नेकपा एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्र राय तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुबिना आचार्यलगायत उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button