इटहरीमा ठूलो परिमाणको लागू औषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

सुन्दरहरैंचा (मोरङ) । सुनसरीको इटहरी उप–महानगरपालिका–१२ बाट ठूलो परिमाणको लागू औषधसहित एक फार्मेसी सञ्चालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ।
फार्मेसी पसलमार्फत लागू औषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी तथा प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले इटहरी–१२ का नसीब फार्मेसीका सञ्चालक ५० वर्षीय नसीब नारायण चौधरीको घर खानतलासी गर्दा प्लास्टिकको बोरामा लुकाइ–छिपाइ राखिएको प्रतिबन्धित औषधि ट्रामाडोल १९ हजार ८०० क्याप्सुल र नियन्त्रित औषधि डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको कोशी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता दिपक पोखरेलले जानकारी दिए।
उक्त परिमाणको लागू औषध बरामद भएपछि चौधरीसहित उनकी श्रीमती सम्झना चौधरीलाई समेत पक्राउ गरिएको प्रवक्ता पोखरेलले बताए। पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रत्येक दिन कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा दर्जनभन्दा बढी लागू औषध कारोबारी पक्राउ परिरहेका छन्। प्रदेशमा अवैध लागू औषध ओसार–पसार गर्नेको संख्या बढेसँगै यसलाई नियन्त्रण गर्न प्रहरीलाई चुनौती थपिएको छ।





