कोसी प्रदेशमा लम्पी स्किनको महामारी: सयौँ चौपायाको मृत्यु, राहत र नियन्त्रणको माग

कोसी प्रदेशमा गाईभैंसीमा देखिएको लम्पी स्किन रोग तीव्र रूपमा फैलिँदै गएको छ। हालसम्म यस रोगका कारण ४२० भन्दा बढी चौपायाको मृत्यु भइसकेको छ भने हजारौँ सङ्क्रमित छन्। यस अवस्थामा प्रदेश सभाका सांसदहरूले सरकारसँग तत्काल नियन्त्रणका लागि पहल गर्न आग्रह गरेका छन्।
मंगलबार बसेको कोसी प्रदेश सभाको शून्य समयमा नेकपा माओवादी केन्द्रकी सांसद सपना दर्जीले प्रदेशका १० जिल्लामा हालसम्म १८ हजार ७४५ गाईगोरु र १७६ राँगा तथा भैंसीमा लम्पी स्किनको संक्रमण देखिएको जानकारी दिइन्। उनका अनुसार सुनसरी जिल्लामा मात्रै १ हजार ५१६ चौपाया सङ्क्रमित भएका छन्, जसमा ५३ वटा पशुको मृत्यु भइसकेको छ। दुहबीमा २७६ पशु संक्रमित छन् भने वराहक्षेत्रमा १३ वटा चौपाया मरेका छन्। अन्य जिल्लाहरूमा पनि अवस्था भयावह रहेको उनले उल्लेख गरिन्।
उनले झापा जिल्लामा १३ हजार ११८ पशु, मोरङमा १ हजार ९५८ र इलाममा १ हजार ६६५ पशु सङ्क्रमित रहेको तथ्याङ्क प्रस्तुत गरिन्। ताप्लेजुङ, धनकुटा, भोजपुर लगायतका पहाडी जिल्लामा पनि लम्पी स्किनको प्रकोप फैलिएको बताउँदै संक्रमित तथा मरेका पशुपालक किसानलाई राहत उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराइन्।
पशुका लागि खोप कार्यक्रम सञ्चालनमा आए पनि त्यो सम्बन्धित स्थानीय तहहरूमा अझै प्रभावकारी रूपमा नपुगेको भन्दै चिन्ता व्यक्त गरिन्। पशुपालन क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले यसलाई संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल कार्ययोजना सार्वजनिक गर्न माग गरिन्।
प्रदेश सांसद लखिकुमारी गणेशले वर्षा नहुँदा किसानहरूले धान खेती गर्न नपाएको उल्लेख गर्दै साउन १४ गतेसम्म पनि धेरैजसो खेत बाँझै रहेको जानकारी दिइन्। उनले मलको कालोबजारीको कारण किसान समस्यामा परेको भन्दै सहज मल आपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरिन्।
सांसद इस्राइल मन्सुरीले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट पाइने व्यवस्था भए पनि स्थायी बसोबास गरेको वडाको सिफारिस अनिवार्य बनाइएकाले महिलाको नाममा पास गर्न समस्या भएको बताए। उनले यो व्यवस्था तत्काल हटाउनुपर्ने आवश्यकता औंल्याए।
त्यस्तै सांसद रमेश कुमार बस्नेतले स्वास्थ्य बीमा कार्यक्रम जनताको पक्षमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै यसको प्रभावकारितामाथि प्रश्न उठाए।
कोसी प्रदेशमा लम्पी स्किन रोगका कारण पशुपालन क्षेत्र संकटमा पर्दै गएको भन्दै प्रदेश सभा सदस्यहरूले तत्काल राहत, खोप र नियन्त्रणको स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेका छन्।