बालिकालाई यौनजन्य कार्यमा लगाउने पक्राउ
काठमाडौं- बालिकालाई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको टोखा नगरपालिका–९ नयाँ बसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका–६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
नयाँ बसपार्कमा रहेका विभिन्न होटल तथा गेष्टहाउसमा बालिकालाई ललाई-फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएका चार जना बालिकालाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो।
आर्थिक अवस्था कमजोर भएका बालिकालाई ललाई-फकाई होटल/गेष्ट हाउसमा वेटर तथा सरसफाइको काममा लगाइदिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकालाई विगत पाँच महिनादेखि होटल/गेष्ट हाउसबाट बाहिर समेत निस्कन नदिई जबर्जस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
–रासस