यू-१९ प्रिमियर कपको फाइनल प्रवेश गर्दै नेपाल एसिया कपमा छनौट
काठमाडौं– नेपाल एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा जापानमाथि १४४ रनको जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको हो।
एसीसी यू-१९ प्रिमियर कपको फाइनल प्रवेशसँगै नेपालले यू–१९ एसिया कपमा स्थान बनाएको छ। अब २ महिनापछि हुने एसिया कपमा नेपालले यूएई, भारत र पाकिस्तानसँग खेल्नेछ।
एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइलनमा टस जितेको जापानले बलिङ रोज्यो। मलेसियाको बायोमास ओभलमा सुरुवातमा ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा वर्षाले खेल रोकियो।
भारी वर्षापछि नेपालले थप ब्याटिङ गर्न पाएन। डकवर्थ लुइस (डीएल) मेथडका आधारमा खेल २५ ओभरमा छोट्टियो र जापानले १८७ रनको लक्ष्य पायो।
तर जापान नेपालको कसिलो बलिङसामू निरिह बन्यो। ११.५ ओभरमा मात्र ४३ रन बनाएर जापान अलआउट भयो।
नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले समान ३–३ विकेट लिए। सुवास भण्डारीले २ र आकाश चन्दले १ विकेट लिए।
नेपाल र जापान दुवै आ-आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए। नेपालले अब मंगलबार हुने फाइनलमा यूएईको सामना गर्नेछ। यूएईले अर्को सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो।
प्रतियोगिताको शीर्ष ३ टोलीले पाकिस्तानमा हुने यू-१९ एसिया कप खेल्नेछन्। नेपाल र यूएई एसिया कपमा पुगेका छन्। अब जापान र सिंगापुरले तेस्रो स्थान र एसिया कपमा स्थान बनाउन खेल्नेछन्।