पहिलो नेपाल-चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ को उपाधि चिनिया टिम सिचुवानलाई
९ असार, पोखरा । पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले हात पारेको छ । शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले जित निकालेको हो ।
प्रतियोगितामा पहिलो भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ हात पारेको छ ।
त्यस्तै, प्रतियोगितामा नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दोस्रो बन्न सफल भएको छ । २ र ५ सय मिटर दुवै विधामा दोस्रो स्थान बनाएका उपाधिसँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ हात पारेको छ ।
मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो ।
प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले प्राप्त गरेका छन् ।
विजेता खेलाडीलाई राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन् छोङ, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
८ वटा ड्रागन बोट पोखरालाई हस्तान्तरण
ड्रागन बोट फेस्टिबलमा प्रयोग गरिएको ८ वटा फाइबरका डुंगा (नौका) चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । काठबाट बनेको नेपाली परम्परागत डुंगाभन्दा फरक फाइबरले बनेको ड्रागन मुखाकृतिका ८ वटा डुंगा केरुङ नाका हुँदै पोखरा ल्याइएको थियो ।
चिनियाँहरुको महत्वपूर्ण चार पर्वमध्येको ड्रागन बोट महोत्सवमा यस वर्षदेखि नेपालमा पनि मनाउन सुरु गरिएको हो । ‘डान्बु जी’ भनेर पनि चिनिने ड्रागन बोट फेस्टिबल महत्वपूर्ण महोत्सवका रुपमा लिन्छन् । चाइनिज क्यालेन्डर ‘लुनार’अनुसार पाँचौं महिनामा यसलाई भव्य रुपमा मनाउँदै आएका छन् ।
नेपालमा पहिलो पटक महोत्सव मनाउन चीनबाटै खेलाडीसहित विभिन्न प्रान्तका नगरप्रमुख, उपप्रमुख, कलाकार बुधबार चिनको छेन्दुबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए–३१९ जहाजबाट बुधबार बिहान पोखरा अवतरण गरेका थिए । चार्टड गरेर ल्याइएको उक्त विमान नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको पहिलो अन्तर्राष्ट्रिय विमान पनि हो ।