सीके राउत : उपेन्द्र यादव यति छिट्टै संसद्मा जानु हुँदैन
चैत १९, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादव यति छिट्टै फेरि संसदमा जान नसक्ने बताएका छन् । आइतबार बारा-२ निर्वाचन क्षेत्र पुगेका राउतले केही महिनाअघि मात्रै निर्वाचन हारेका यादव बारा २ मा निर्वाचन लड्न आए त्यो जनमतकै अपमान हुने बताए ।
‘उपेन्द्र यादव भर्खर पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानु हुँदैन । त्यो गर्नुभयो भने जनमत र जनताले दिएको मतको अपमान हो भन्ने जनताले पनि बुझेका छन् । त्यहि भएर षड्यन्त्र गरेर उहाँ आउँदै हुनुहुन्छ, तर, यहाँका जनताले सफल हुन दिँदैनन्’, उनले भने ।
बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गर्दै उनले आफू पनि अवश्यकताअनुसार निर्वाचन अवधिभर बारामै बस्ने बताए । ‘यहाँका जनतालाई सीके राउतलाई भेटौ भन्नेछ । त्यसका साथै जनमत पार्टीको स्वच्छ छवि र सदनमा देखाएको सक्रियताले गर्दा पनि जित्ने लगभग निश्चित छ । उपेन्द्रजी बाहिरबाट आउनुभएको छ । यहाँका जनताले यहीकै भूमिपुत्रलाई जिताउँछन्’, उनले भने ।