ट्राफिक जरिवानाबाट प्रहरीलाई २५ प्रतिशत भत्ता दिने दाबी गलत : नेपाल प्रहरी
काठमाडौं — ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घनबापत उठाइने जरिवानाको २५ प्रतिशत रकम विशेष भत्ताका रूपमा पाउने भन्ने प्रचार तथ्यहीन रहेको नेपाल प्रहरीले स्पष्ट पारेको छ।
नेपाल प्रहरीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्ने गरेको भन्ने आशयका समाचार तथा टिप्पणी सार्वजनिक भइरहेका प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।
यसअघि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु चौलागाईंले संसदीय समितिको बैठकमा ट्राफिक प्रहरीले जरिवानाबाट २५ प्रतिशत कमिसन पाउने गरेको दाबी गरेका थिए।
तर, नेपाल प्रहरीले उक्त दाबी कानुनी व्यवस्था विपरीत र आधारहीन रहेको स्पष्ट गरेको छ। प्रहरीका अनुसार ट्राफिक नियम उल्लङ्घन गरेबापत संकलन हुने सम्पूर्ण जरिवाना रकम प्रचलित कानुनअनुसार नेपाल सरकारको राजस्व खातामा सिधै जम्मा हुने व्यवस्था छ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा ट्राफिक प्रहरीले जरिवाना रकमबाट कुनै पनि प्रकारको अतिरिक्त सुविधा, कमिसन वा विशेष भत्ता पाउने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै यस्ता भ्रामक सूचनामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



