काठमाडौँ — चालू आर्थिक वर्ष ०८२/८३ का पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह भने केवल ४.७ प्रतिशतले मात्र बढेको थियो।
त्यसैगरी, ०८२ साल मङ्सिर महिनामा मात्र रेमिट्यान्स आप्रवाह एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम एक खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो।
अमेरिकी डलरमा हेर्दा, यस अवधिमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष भने यस्तो आप्रवाह ३.४ प्रतिशतले मात्र बढेको थियो।
चालू आर्थिक वर्षका पहिलो पाँच महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ खर्ब ४३ करोड रुपैयाँ थियो।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ७५ हजार ५९१ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६३ हजार ९२४ रहेको छ।