विराट टिचिङ हस्पिटलमा स्त्री तथा प्रसूति सेवामा फड्को : ५ वटा अत्याधुनिक अप्रेशन थिएटरसहित २०० बेडको भवन सञ्चालनमा

चुन चुन झा / बिराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ मा अवस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालको स्वास्थ्य सेवामा एक महत्वपूर्ण फड्को मार्दै स्त्री तथा प्रसूति सेवाका लागि समर्पित २०० बेडको अत्याधुनिक भवन सञ्चालनमा ल्याएको छ।
महिला स्वास्थ्य सेवालाई थप विशिष्टीकृत र सुविधायुक्त बनाउन निर्माण गरिएको यो भवनको उद्घाटन मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले गरेका हुन्।
नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रको रूपमा परिचित यस अस्पतालमा हाल अप्रेशन थिएटरको संख्या २४ पुगेको छ। यसअघि विभिन्न शल्यक्रियाका लागि १९ वटा अप्रेशन थिएटर सञ्चालनमा थिए। नयाँ विस्तारसँगै स्त्री तथा प्रसूति सेवामा मात्रै ५ वटा अत्याधुनिक शल्यकक्ष (अप्रेशन थिएटर), २०० बेड क्षमताको वार्ड, ३० बेडको डिलक्स क्याबिन र छुट्टै गाइनो आइसीयू जस्ता सुविधा थपिएका छन्। यसले कोशी प्रदेश र आसपासका क्षेत्रमा महिलाहरूलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा गरिएको छ।
सन् २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज टिचिङ हस्पिटल छोटो समयमा नै कोशी प्रदेशकै अग्रणी स्वास्थ्य संस्थाको रूपमा स्थापित भएको छ। स्त्री तथा प्रसूति जस्तो संवेदनशील सेवामा प्रभावकारी र व्यवस्थित सुविधा उपलब्ध गराउन समर्पित भवन र अत्याधुनिक उपकरणसहित सेवा विस्तार गरिएको अस्पतालका अध्यक्ष तथा प्रा.डा. ज्ञानेन्द्र मानसिंह कार्कीले बताए। उनका अनुसार यस कदमले महिला बिरामीलाई अझ उत्कृष्ट र सुरक्षित उपचार उपलब्ध गराउनेछ।
अस्पतालमा १०० बेड क्षमताको इमरजेन्सी विभाग पनि सञ्चालनमा छ, जसमा स्त्री तथा प्रसूति आपतकालीन सेवा समावेश छ। साथै, अस्पताल नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रको रूपमा परिचित छ। हाल अस्पतालमा २० भन्दा बढी विशेषज्ञ स्त्री तथा प्रसूति चिकित्सकहरूले २४ सै घण्टा सेवा उपलब्ध गराइरहेका छन्।
नवनिर्मित गाइनो वार्डको उद्घाटन गर्दै प्रमुख अतिथि प्रा.डा. अच्युत प्रसाद वाग्लेले विराट मेडिकल कलेजले पूर्वी क्षेत्रका बिरामीलाई उत्कृष्ट सेवा उपलब्ध गराएर स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेको बताए। उनले भने, “विराट टिचिङ हस्पिटलले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा दुवैमा गुणस्तर कायम राखेको छ। आगामी दिनहरूमा पनि यसैगरी उत्कृष्ट कार्यलाई निरन्तरता दिने विश्वास लिएको छु।”
कार्यक्रममा उपस्थित चिकित्सक, नर्स र विद्यार्थीहरूका लागि प्रा.डा. वाग्लेसँग अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो, जहाँ विद्यार्थीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे प्रश्न राखेका थिए।
सोही अवसरमा अस्पतालका अध्यक्ष प्रा.डा. कार्कीले सरकारले लामो समयपछि मेडिकल कलेजहरूको एमबीबीएस कोटा बढाउने निर्णयलाई स्वागत गर्दै यसलाई “१० वर्षपछिको आइस ब्रेक” का रूपमा व्याख्या गरे। उनले भने, “निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी र पूर्वाधार निर्माण गरेर ठूलो फड्को मारेको छ। राज्यले १० वर्षअघि नै गर्नुपर्ने निर्णय अहिले गरेको छ, यो अत्यन्तै सकारात्मक र स्वागतयोग्य कदम हो।” उनका अनुसार यस निर्णयले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा मद्दत गर्नेछ।
यसका साथै, अस्पतालले बिरामीका आफन्त, चिकित्सक र कर्मचारीहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक र सुविधा सम्पन्न ‘विराट क्याफे’ पनि सञ्चालनमा ल्याएको छ। भवनको तल्लो तलामा रहेको यो क्याफेटेरियाबाट सहज र स्वच्छ खाजा तथा खानाको सुविधा प्राप्त गर्न सकिनेछ।