जिल्ला अस्पताल सुनसरीमा सुधारयात्रा थलाे—अध्यक्षमाथि हस्तक्षेप र भ्रष्टाचारको आरोप
जिल्ला अस्पताल सुनसरी पुनः पुरानै अवस्थातर्फ फर्किँदै, अध्यक्ष राजन मेहतामाथि प्रत्यक्ष हस्तक्षेप, भ्रष्टाचार र सेवाग्राहीको सहज पहुँचमा असर पार्ने कामको आरोप।

रबिन्द्र कुमार यादव। इनरुवा साउन २८ गते । जिल्ला अस्पताल सुनसरी पछिल्ला वर्षमा भएको सुधारयात्रा फेरि संकटमा परेको स्थानीयहरूले आरोप लगाएका छन्। तत्कालीन मेसु डा. देवराज घिमिरेको कार्यकालपछि आएको सकारात्मक परिवर्तन हाल थलिन थालेको र यसमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको प्रत्यक्ष हस्तक्षेप मुख्य कारण रहेको जनाइएको छ। सेवाग्राहीको सहज पहुँचमा असर पार्दै अस्पताललाई ‘पूर्ण रेफर सेन्टर’को दिशामा धकेल्ने प्रयास भइरहेको दाबी गरिएको छ।
डा. श्रेया पंगेनीको कार्यकालमा सेवाग्राहीको विश्वास बढेको र उहाँले दिन–रात खटेर सेवाको गुणस्तर सुधार गरेको स्थानीयहरू स्मरण गर्छन्। उहाँपछि डा. सन्तोष राईले पनि सुधारको प्रयास गरेका थिए, तर अध्यक्ष मेहताले बदनियतपूर्ण रूपमा महिना नपुग्दै सरुवा गराएको आरोप समाचार स्रोतहरूले लगाएका छन्। यसपछि अस्पताल फेरि पुरानै समस्याहरूको चपेटामा परेको भन्दै आलोचना भएको छ।
स्थानीयका अनुसार, अध्यक्ष मेहताले करार पदपूर्ति परीक्षा अचानक स्थगित गर्नु, औषधि व्यापारी शशी शाहकी पत्नीलाई तलब भत्ता नदिई नियुक्ति गर्नु, मेसु डा. अमिताभ ठाकुरले अस्पतालको सवारी साधनको सट्टा शशी शाहकै गाडी प्रयोग गर्नु र औषधि खरिदमा नियमविपरीत प्रक्रिया अपनाउनुजस्ता गतिविधिहरू भएको आरोप छ। केही औषधि खरिदपछि फिर्ता गर्नुपरेको र टेन्डर प्रक्रियाका लागि पुनः काम थालिएको पनि बताइन्छ।
यसैबीच, कर्मचारीहरूले महिनौँदेखि तलब नपाएको, बीमा रकम १४ महिनादेखि रोकिएको र मानसिक तनाव भोगिरहेको गुनासो गरेका छन्। सात सुरक्षागार्डमध्ये दुईले राजीनामा गरिसकेका छन् भने अन्य पनि राजीनामाको तयारीमा रहेको जानकारी छ। बिरामीको चाप घटेको विषयमा अस्पतालको सूचना शाखा प्रमुख शेखर रेग्मीले विशेषज्ञ डाक्टर नभएकै कारण भएको बताए पनि, स्थानीयहरूका अनुसार यसको वास्तविक कारण व्यवस्थापन तहको हस्तक्षेप र भ्रष्टाचार हो।
अध्यक्ष राजन मेहतासँग सम्पर्क गर्दा उनले “म मन्त्रालयमा छु, पछि कुरा गरौं” भन्दै स्पष्ट प्रतिक्रिया दिन अस्वीकार गरेका थिए। अस्पताल प्रमुख डा. अमिताभ ठाकुरले पनि बीमा रकमबारे सोध्दा “यो प्रशासन प्रमुखसँग बुझ्नुस्” भन्दै फोन काटिदिएको आरोप छ। स्थानीय स्रोतहरूका अनुसार, औषधि व्यापारी शशी शाह र अस्पताल प्रमुख डा. ठाकुरबीचको मिलोमतोमा औषधि खरिद भएको र अध्यक्ष मेहताको संलग्नतामा शशी शाहकी पत्नीलाई नियुक्ति गरिएको दाबी छ। तर यसबारे सम्बन्धित पक्षले प्रत्यक्ष प्रतिक्रिया दिएका छैनन्।
स्थानीयवासी र सेवाग्राहीहरूले अध्यक्ष मेहताको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै चेतावनी दिएका छन् कि, यदि तत्काल सुधारका कदम चालिएनन् भने, जिल्ला अस्पताल सुनसरी फेरि वर्षौँअघिको जस्तै कमजोर, गैर-जिम्मेवार र सिफारिसमुखी संस्थामा परिणत हुनेछ।