फेरिँदै जनसंख्याको स्वरूप, ४६ दशमलव ९ प्रतिशत नेपाली बेरोजगार र धेरै प्रतिशत कृषिमा संलग्न
चैत १२, काठमाडौँ। नेपालको जनसंख्याको स्वरूप पछिल्लो दशकमा फेरिँदै गएको छ । एक दशकको अन्तरमा सरकारले गर्ने राष्ट्रिय जनगणनाले पछिल्लो समय नेपालको जनसंख्याको स्वरूपमा फेरबदल आएको देखाएको हो ।
जनगणना २०७८ अनुसार नेपालमा पछिल्लो समय बालबालिकाको संख्या घट्दै गएको छ भने वृद्धवृद्धाको संख्या बढ्दो देखिन्छ ।
२०६८ सालको जनगणनामा १४ वर्षमुनिको जनसंख्या ९२ लाख ४८ हजार २४६ (३४ दशमलव ९१ प्रतिशत) रहेकामा अहिले घटेर ८१ लाख १५ हजार ५७५ (२७ दशमलव ८३ प्रतिशत) छ । ६० वर्षमाथिको जनसंख्या २०६८ को २१ लाख ५४ हजार ४१० (८ दशमलव १३ प्रतिशत) बाट बढेर २९ लाख ७७ हजार ३१८ (१० दशमलव २१ प्रतिशत) पुगेको छ ।
नयाँ तथ्यांकअनुसार सबैभन्दा धेरै १५–१९ वर्ष उमेरसमूहको जनसंख्या १० दशमलव २ प्रतिशत छ । त्यस्तै १०–१४ वर्ष उमेरसमूहको संख्या १० प्रतिशत छ । १०–१४ र १५–१९ वर्ष उमेरसमूहमा १० दशमलव ५ प्रतिशत पुरुष र ९ दशमलव ९ प्रतिशत महिला छन् । त्यस्तै २०–२४ वर्ष समूहको संख्या ९ दशमलव ५ प्रतिशत रहेको छ । हाल १ वर्षभन्दा कम उमेरसमूहको जनसंख्या ४ लाख ११ हजार १५९ छ । ५ वर्षमुनिको संख्या २४ लाख ३९ हजार २८३ छ ।
नागरिकको औसत आयु बढ्दै जाँदा जनसंख्यामा देखिएको यो उमेरगत असन्तुलनले भविष्यमा राज्यमाथि आर्थिक दायित्व थपिने जोखिम बढाएको छ । यद्यपि नयाँ जनगणनाअनुसार सक्रिय उमेरसमूह बढेको देखिन्छ । जनगणना २०७८ अनुसार कुल जनसंख्याको ६१ दशमलव ९६ प्रतिशत १५–५९ वर्ष उमेरसमूहको छ । २०६८ मा यस्तो जनसंख्या ५६ दशमलव ९६ प्रतिशत थियो ।
जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । तथ्यांकअनुसार २०६८ को तुलनामा २०७८ मा १० दशमलव शून्य ८ प्रतिशतले जनसंख्या बढेको छ । नयाँ तथ्यांकमा पुरुषभन्दा महिलाको संख्या बढी छ । पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ छन् । पहिलोपटक अन्य लिंगीको जनगणना भएको छ । देशभर अन्य लिंगीको संख्या २ हजार ९२८ छ ।
आर्थिक काममा संलग्नको ५७ दशमलव ३ प्रतिशत कृषिमा
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८ अनुसार आर्थिक काममा संलग्न जनसंख्यामध्ये सबैभन्दा धेरै नेपाली कृषि, वन र माछापालन क्षेत्रमा संलग्न छन् । ५७ दशमलव ३ प्रतिशत नेपाली कृषि कर्ममा संलग्न छन् ।
सेवा र उद्योग क्षेत्रमा आकर्षण बढ्दै गएको र कृषिमा मुनाफा कम हुन थालेका कारण यस क्षेत्रमा आबद्धता घट्दो देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार कृषिपछि थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मत कार्यहरूमा १२ दशमलव ५ प्रतिशत, निर्माणमा ८ दशमलव १ प्रतिशत, अन्य सेवा प्रदान गर्ने क्रियाकलापमा ३ दशमलव ९ प्रतिशत, औद्योगिक उत्पादनमा ३ दशमलव ८ प्रतिशत जनसंख्या संलग्न छ ।
१० वर्षभन्दा माथि उमेर संख्यामा ६५ दशमलव ५ प्रतिशत आर्थिक रूपमा सक्रिय रहेको जनगणनाले देखाएको छ । प्रतिवेदनअनुसार कुल १ करोड ५६ लाख ८९ हजार ७७७ नेपाली आर्थिक रूपले सक्रिय छन् । १० वर्षमाथिको ३४ दशमलव ३ प्रतिशत जनसंख्या भने आर्थिक रूपमा निष्क्रिय छ ।
वृद्धअवस्था, पढाइ, शारीरिक अस्वस्थता वा अन्य परिस्थितिका कारण ८२ लाख ११ हजार १२ जनाले कुनै पनि आर्थिक काम गर्दैनन् । आर्थिक काम नगर्ने सबैभन्दा धेरै (४६ दशमलव ९ प्रतिशत)ले विद्यार्थी भएकाले केही नगरेका हुन् ।
त्यसपछि अन्य कारणमा क्रमशः घरधन्दा (२१ दशमलव ९ प्रतिशत), वृद्ध अवस्था (११ प्रतिशत), पारिवारिक हेरचाह (७ दशमलव ५ प्रतिशत), अन्य (७ दशमलव ४ प्रतिशत), अशक्त÷बिरामी (२ दशमलव ५ प्रतिशत), पेन्सन÷आयस्तर भएका (२ दशमलव २ प्रतिशत) र सामाजिक कार्य÷स्वयंसेवा (शून्य दशमलव ३ प्रतिशत) छ ।
आर्थिक काम नगर्ने संख्यालाई आर्थिक रूपमा सक्रिय परिवारका अन्य सदस्य वा राज्यले पालनपोषण गरिरहेको छ । आर्थिक रूपमा सक्रिय जनसंख्यामा पनि १ करोड १० लाख ३८ हजार १०५ जना रोजगार रहेको तथ्यांक छ । आर्थिक रूपमा सक्रिय जनसंख्यामध्ये कृषि, वन र माछापालन कार्यमा दक्ष कामदार ५० दशमलव १ प्रतिशत छन् । सामान्य वा प्राथमिक पेशाका कामदार २३ प्रतिशत, सेवा तथा वस्तु विक्री गर्ने कामदार ५ दशमलव ८ प्रतिशत, शिल्पकला तथा कालिगढीसँग सम्बद्ध कामदार ५ दशमलव ६ र व्यवस्थापक ५ दशमलव १ प्रतिशत छन् ।
बिजुलीको पहुँच विस्तार
९२ दशमलव २ प्रतिशतले बत्ती बाल्न बिजुली प्रयोग गर्ने गरेको जनगणनाले देखाएको छ । २०६८ को जनगणनाअनुसार बिजुली प्रयोग गर्ने परिवार ६७ दशमलव ३ प्रतिशत मात्रै थियो । मधेश प्रदेशमा बिजुली प्रयोग गर्ने परिवार ९७ दशमलव ९ प्रतिशत छ । कर्णालीमा बिजुली र सौर्य ऊर्जा÷सोलार प्रयोग गर्ने परिवार क्रमशः ४९ दशमलव ६ प्रतिशत र ४७ दशमलव ९ प्रतिशत छ ।
साथै १० वर्षमा खाना पकाउन ग्यास प्रयोग गर्ने परिवारको संख्या पनि बढेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ४४ दशमलव ३ प्रतिशत परिवारले खाना पकाउन एलपी ग्यास प्रयोग गर्छन् । २०६८ मा यस्तो अनुपात करीब ३० प्रतिशत थियो ।
मोबाइलको पहँुच पनि बढ्दो छ । साधारण मोबाइल फोन प्रयोग गर्ने परिवार ७३ दशमलव १५ प्रतिशत छ । ७२ दशमलव ९४ प्रतिशत परिवारले स्मार्टफोन प्रयोग गर्छ । ४९ दशमलव ३७ प्रतिशतको टेलिभिजनमा पहुँच छ । ३७ दशमलव ७२ प्रतिशत जनसंख्याको इन्टरनेटमा पहुँच छ । ३५ दशमलव २१ प्रतिशतसँग साइकल छ ।
करीब १२ प्रतिशत महिलाको नाममा सम्पत्ति छ । ११ दशमलव ८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै छ । महिलाको नाममा जग्गा मात्र भएको परिवार ९ दशमलव ७ प्रतिशत र घर मात्र भएको २ दशमलव ३ प्रतिशत छ । समग्रमा २३ दशमलव ८ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको देखिन्छ ।
वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशत छ । २०६८ मा यो १ दशमलव ३५ प्रतिशत थियो । भक्तपुर जनसंख्या वृद्धिदर सबैभन्दा उच्च (औसत ३ दशमलव ३५ प्रतिशत) छ । रामेछापको जनसंख्या वृद्धिदर १ दशमलव ६७ प्रतिशतले ऋणात्मक छ ।
शुक्रवार जनगणनाको प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी तथा निजीस्तरबाट लिने नीति निर्माणमा तथ्यांक उपयोगी हुने बताउनुभयो ।
उनका अनुसार तथ्यांकले सुशासनको अभिवृद्धि, दिगो विकास लक्ष्य तथा जनसंख्या र विकाससम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनहरूमा नेपालले गरेका प्रतिबद्धतालगायत अन्य राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्यांकन र विद्यमान सूचकहरूको प्रगति मापनमा सहयोग पुग्नेछ । संघ, प्रदेश र स्थानीय तहलाई नीति, योजना तथा कार्यक्रम तयार गर्दा तथ्यमा आधारित निर्णय गर्न थप आधारसमेत प्राप्त हुने उहाँले बताउनुभयो ।