कावासोतीको केरुंगे खोलामा बन्दै गरेको पुल अलपत्र छोडेर ठेकेदार दुई वर्षदेखि सम्पर्कविहीन
पूर्वी नवलपरासी — कावासोतीको केरुंगे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । कावासोती नगरपालिकाको वडा नम्बर ४ र ३ को बीचमा रहेको केरुंगे खोलाको पुल निर्माण गर्दै गरेका ठेकेदारको दुई वर्षदेखि कुनै अत्तोपत्तो नै छैन ।
माघ २३, चितवन। पूर्वी नवलपरासी — कावासोतीको केरुंगे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । कावासोती नगरपालिकाको वडा नम्बर ४ र ३ को बीचमा रहेको केरुंगे खोलाको पुल निर्माण गर्दै गरेका ठेकेदारको दुई वर्षदेखि कुनै अत्तोपत्तो नै छैन ।
यहाँको अठाइस बिघा क्षेत्र र हसौरा जोड्ने १ सय ४० मिटर लामो पक्की पुल अघिल्लो असारमा निर्माण सम्पन्न हुनुपर्थ्यो । निर्माणको काम भइरहँदा ठेकेदारले काम बीचमै छोडेर बेपत्ता भएका हुन् । यो पुल चितवनको एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ असारसम्ममा काम सम्पन्न गर्ने गरी साढे १० करोडमा ठेक्का पाएको थियो । सो निर्माण कम्पनीका सञ्चालक कमल भट्ट हुन् ।
कावासोती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लोहानी काम गर्दागर्दै ठेकेदार बेपत्ता भएको बताए । पुल सम्पन्न नभएका कारण स्थानीयहरु खोलाको बाटो ओहोरादोहोर गर्दै आएका छन् । यो पुल हेर्ने सडक डिभिजन कार्यालय भरतपुर, चितवनका इन्जिनियर राजेन्द्र मर्हजन ठेकेदारलाई चाँडो काम सक्न ताकेता गरेर यसै साता पत्राचार गरेको बताउँछन् । ‘दुईपटक म्याद थपिएको छ । पछिल्लो पटक गत असोज सम्मको म्याद थपिएको र त्यस भित्रपनि काम हुन सकेको छैन,’ उनले भने, ‘अब फेरि पत्र लेखेरे ताकेता गरेको छु ।’
उनका अनुसार आउँदो चैत्र महिनासम्मको म्याद थप्न सडक विभागमा पत्र पठाइएको र ठेकेदारले पनि चाँडै काम सक्ने प्रतिबद्धता जनाएका छन् ।
काम गर्ने ठेकेदारले आर्थिक कारण देखाएर काममा ढिलाइ गरेको उनले सुनाए । ‘अन्यत्र पनि यही ठेकेदारले काम गरिरहेको छ । त्यताको भुक्तानी व्यवस्था समेत मिलाइदिएका कारण अब काम सुरु गर्ला भन्ने आशा छ,’ उनले भने ।
पुल निर्माणको ढाँचा समेत नमिलेको स्थानीय वडा अध्यक्ष नारायण लोहनी बताउँछन् । ‘खोलाको बगरले पुल छुने जस्तो देखिन्छ वर्षात्को भेलले पुल नै बगाउने होकि भन्ने चिन्ता छ,’ स्थानीय राज चापागाईंले भने, ‘यसो हेर्दा पुलको तल्लो भाग खोलाको बगरले छुने खोजे जस्तो देखिन्छ । यो पुल कस्ता इन्जिनियरले डिजाइन गरेका होलान् ?’
उता इन्जिनियर मर्हजन भने खोलाको बगर र पुलको तल्लो भाग नजिक देखिएको साँचो भएको बताउँदै पुल मुन्तिरको बगर (ग्राइभेल) निकालिरहन पर्ने बताउँछन् । ‘पहिला पुलको डिजाइन नै त्यस्तै रहेछ । त्यसरी नै काम भयो । वर्षातमा बाढीको समयमा जोखिम बढेपनि खोला मुनिको ढुंगा, ग्राइभल निकालिरहन पर्ने हुन्छ,’ उनले भने ।
Source: ekantipur