८ मंसिर २०८१, शनिबार | Email:- [email protected] | [email protected]
"जडीबुटी व्यवसायको भविष्य: नेपालमा सम्भावना र चुनौतीहरू" - Routine Of Bhokraha Narsingh
Banner NewsBanner news (with photo)अन्तर्वार्ताअर्थव्यवस्थाताजा समाचारदेशपर्यटनप्रदेश १प्राविधिक समाचारफिचरबिचारविचार दृष्टिकोणसफलताको कथा

“जडीबुटी व्यवसायको भविष्य: नेपालमा सम्भावना र चुनौतीहरू”

सङ्गीता राई/धरान (सुनसरी) । सङ्खुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको लगभग दुई दशक भएको छ। हिमाल र पहाडमा सङ्कलन गरिएका जडीबुटीहरू बिक्री गर्न उहाँ लामो समयसम्म टाढा–टाढासम्म पुग्नुभयो। लामो समयसम्म तराईदेखि पहाडका विभिन्न स्थानमा घुम्दै जडीबुटी बिक्री गर्नुभएकी शेर्पाले अहिले इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गर्नुभएको छ। जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ अहिले सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आउनुभएको छ।

“पहिले टाढा–टाढासम्म पुग्दा पनि भनेजस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दै छ। इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ,” उहाँले सुनाउनुभयो।

सुरुवाती समयमा उहाँ जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्नुहुन्थ्यो। “सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भनेजस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने मासिक रूपमा अधिकतम रु १ लाख ५० हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो। “जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तानको पढाइ खर्च टरेको छ।” उहाँले यसै आम्दानीबाट धरानको बगरकोटमा दुई तले घर पनि निर्माण गरिसक्नुभएको छ।

उहाँले सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम र दार्जिलिङसम्मबाट जडीबुटी ल्याउनुहुन्छ। कहिले आफैँ गएर, त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने उहाँले बताउनुभयो।

उहाँको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राख्नुभएको छ। जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि व्यापार गर्न निकै सजिलो भएको उहाँले बताउनुभयो। त्यसका साथै, नगरपालिकाले वार्षिक रूपमा औषधि व्यापारसम्बन्धी तालिम दिने गरेको छ, जसले उहाँलाई थप ज्ञान हासिल गर्न मद्दत पुगेको छ।

शेर्पाजस्तै धरान–८ का आचुङ्मा भोटे पनि इटहरी–६ को टेङ्ग्राखोला नजिकै खुला आकाशमुनि जडीबुटी बिक्री गर्दै गर्दा भेटिनुभयो। उहाँ पनि जडीबुटी व्यवसायमा झण्डै दुई दशकदेखि संलग्न हुनुहुन्छ। पछिल्लो समय जडीबुटीबाट राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो।

पुख्र्यौली घर सङ्खुवासभा भएका भोटेले जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेको सुनाउनुभयो। “सुरुवाती दिनमा हिमालका जडीबुटी तराईमा झरेर बिक्री गरेर उतै फर्किन्थ्यो। त्यो समयमा अस्पतालको सहज पहुँच नहुँदा बिरामी हुँदा धेरैका लागि जडीबुटी नै विकल्प थियो,” उहाँले भन्नुभयो। “पछिल्लो समयमा फेरि यसको माग बढ्दै गएको छ।” पुर्खाले पनि यही व्यापार गर्ने भएकाले आफूले पनि यही पेसा अपनाएको उहाँको भनाइ छ।

उहाँले जडीबुटी बिक्रीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको सुनाउनुभयो। “अहिले धेरैको जडीबुटीप्रति विश्वास बढ्दै गएको छ। काठमाडौँ, विराटनगर, मोरङ, झापा लगायतका ठाउँबाट फोन गरेर पनि जडीबुटी अर्डर गर्नुहुन्छ,” उहाँले भन्नुभयो। “पहिले ‘जडीबुटीले रोग निको हुन्छ र?’ भन्नेहरू अहिले जडीबुटी किन्न थालेका छन्।”

इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आउनुभएका धरानका दावा शेर्पा पनि १० वर्षदेखि यसै पेसामा हुनुहुन्छ। उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाटै परिवार राम्रोसँग चलेको छ। दैनिक रु ५,००० देखि १०,००० सम्म व्यापार हुन्छ।” उहाँले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी ल्याउने गरेको बताउनुभयो।

श्रोत :- आवर विराटनगर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button