भोक्राहा नरसिंह गाउँपालिकामा अराजक समूहद्वारा कार्यालयमा आक्रमण, दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता
भोक्राहा नरसिंह सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकास्थित चिरौलीमा रहेको गाउँ कार्यपालिका कार्यालयमा सोमबार दिउँसो करिब १२:३० बजे एक अराजक समूहले कार्यालयमा प्रवेश गरी कर्मचारीहरूमाथि हातपात र दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ। उक्त समूहले कार्यालयका केही कर्मचारीलाई शारीरिक तथा मानसिक यातना दिँदै, उनीहरूको मोबाइल फोनसमेत तोडफोड गरेको बताइएको छ।
घटनापछि गाउँपालिकाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अमानवीय घटनाको कडा शब्दमा निन्दा गरेको छ। विज्ञप्तिमा दोषीहरूमाथि कडा कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाउँदै, घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरिएको जानकारी दिइएको छ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले यो अराजक घटनाले गाउँपालिकाको शान्ति, सुव्यवस्था तथा कर्मचारीहरूको सुरक्षामा गम्भीर चुनौती खडा गरेको भन्दै दोषीलाई कानूनी कठघरामा उभ्याउन कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले घटनाको गम्भीरता ध्यानमा राखी यस्ता गतिविधि कुनै पनि रूपमा स्वीकार्य नहुने उल्लेख गर्दै छानबिनमा पूर्ण पारदर्शिता अपनाइने र दोषीमाथि कानूनी प्रक्रिया अनुसार तुरुन्तै कारबाही गरिने बताए।
गाउँपालिकाले सम्पूर्ण नागरिकलाई संयमित, सतर्क र सचेत रहन अपील गर्दै अफवाह वा भ्रामक सूचनामा नपर्न, साथै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न गाउँपालिकालाई सहयोग गर्न आग्रह गरेको छ। साथै, यस्ता अराजक गतिविधि दोहोरिन नदिन सुरक्षा व्यवस्था थप मजबुत बनाइने पनि गाउँपालिकाले जनाएको छ।