गिरिबन्धु, नक्कली भुटानी शरणार्थीलगायत प्रकरण छोप्न नयाँ सरकार : सांसद पाण्डे
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि बन्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस-एमालेको सरकार गिरिबन्धु, नक्कली भुटानी शरणार्थीलगायतका प्रकरणहरु छोप्नका लागि बन्न लागेको बताएका हुन् ।
संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग गठबन्धन नरहेको आफूहरुको बुझाइ रहेको उनको भनाइ छ ।
उनले प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले शंका उब्जिएको बताए । ‘गिरिबन्धु प्रकरण छोप्नुपर्ने भयो, भुटानी शरणार्थी काण्ड छोप्नुपर्ने भयो । यस्ता कुरा भन्ने आइरहेको छ । त्यो नहोस्, त्यो उहाँहरुमाथि लागेको आरोप गलत ठहरियोस्,’ उनको भनाइ थियो, ‘तर आमरुपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन । प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमै बस्न पुगेपछि हाम्रो रक्षा कसले गर्दछ ? गलत कुरा छोप्न हो कि भन्ने शंका सबैको छ ।’
सांसद पाण्डेले एमाले र कााग्रेस सरकारमा आफूहरु सम्मिलित हुने कुरा नसोचेको र आफूहरुको आवश्यकता पनि दुई दललाई महसुस नभएको अनुभव आफूले गरेको बताए ।