संवैधानिक अङ्गमा आयुक्त र सदस्यका लागि आवेदन खुला
काठमाडौं । गत शुक्रबार बसेको संवैधानिक परिषद् बैठकको निर्णय अनुरुप संवैधानिक निकायका आयुक्त र सदस्यहरु माग गर्दै आवेदन मागेको छ ।
संवैधानिक नियुक्तिमा पारदर्शिता र स्वच्छता ल्याउने भन्दै यस्तो अभ्यास प्रचलनमा ल्याइएको छ ।
उक्त परिषद्को सचिवालयले आइतबार सार्वजनिक सूचनामार्फत संवैधानिक अंगमा चारवटा पदका लागि आवेदन खुलाइएको हो । परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत, वित्त आयोग र मुस्लिम आयोगको सदस्यको माग गरेको छ ।
उक्त सूचना अनुसार एकभन्दा धेरै पदमा पनि आवेदन दिन सकिने छ। उक्त निकायमा नियुक्त हुन योग्य, अनुभवी नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने छन् ।
आवेदन प्राप्त भएपछि परिषदले योग्य उमेदवारलाई प्रतिस्पर्धाका आधारमा छनोट गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको फारम भरेर इच्छुकले आवेदन बुझाउन सकिने व्यवस्था छ ।
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिससँगै उक्त निकायमा नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो । यी संवैधानिक अङ्गमा कम्तीमा एक जना महिला नियुक्त गर्ने सहमति पनि भएको छ ।
गत साउन १८ गते पनि महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तीय आयोगका सदस्य र मुस्लिम आयोगका सदस्य नियुक्तिका लागि उक्त परिषद्ले आवेदन खुलाएको थियो ।