महिनामै सवा खर्ब रेमिट्यान्स
अहिलेसम्मकै धेरै विदेशी मुद्रा ओइरिँदा सञ्चिति पौने १६ खर्ब

काठमाडौँ — पछिल्ला महिनामा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचक झनै बलियो बन्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत साउनको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढेपछि शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति पनि थप बलियो अवस्थामा पुगेको प्रतिवेदनले औंल्याएको छ ।
निर्यात, पर्यटन, विदेशी सहयोग, अनुदान, ऋणलगायत विदेशी मुद्राका अन्य स्रोत प्रभावकारी बन्न नसकिरहेका बेला लगातार रेमिट्यान्समा वृद्धि हुँदा अर्थतन्त्रका बाह्य सूचकमा भने सुधार भएको तथ्यांकले देखाएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) सम्ममा रेमिट्यान्समार्फत १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मुलुक भित्रिएको रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको साउनमा रेमिट्यान्स वृद्धिदर २०.३ प्रतिशतले बढेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।’
गत आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च बन्दै आएको छ । मासिक रूपमा हेर्दा गएका १२ महिनामध्ये गत मंसिरदेखि साउनसम्म (नौ महिना) हरेक महिना १ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । गत साउनमा नेपाल भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो । यसअनुसार गत साउनमा रेमिट्यान्समार्फत १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउनमा ९२.२ अर्ब, भदौमा ९४.८ अर्ब, असोजमा ९४ अर्ब, कात्तिकमा ९७ अर्ब, मंसिरमा १ खर्ब २ अर्ब ५० करोड, पुसमा १ खर्ब ४ अर्ब ६० करोड, माघमा १ खर्ब ४ अर्ब ८० करोड, फागुनमा १ खर्ब ४ अर्ब ४० करोड, चैतमा १ खर्ब ९ अर्ब १० करोड, वैशाखमा १ खर्ब १ अर्ब, जेठमा १ खर्ब ७ अर्ब र असारमा १ खर्ब ८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
चालु आर्थिक वर्षको पहिलोमा ३९ हजार १ सय ५२ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधि श्रम स्वीकृति लिनेको संख्या करिब २१.१ प्रतिशतले घटेको हो । गत साउनमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १६ हजार ४ सय २३ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७५.४ प्रतिशतले बढेको थियो ।
बढ्दो रेमिट्यान्स, घट्दो आयातलगायत कारण अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक अर्थतन्त्रका समस्या ज्युँका त्युँ रहेकाले आर्थिक गतिविधिमा देखिएको शिथिलता कायमै छ । गत साउन मसान्तसम्म राष्ट्र बैंकमा रहेको सरकारका विभिन्न खातामा २ खर्ब ८ अर्ब ९३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको राष्ट्र बैंकको तथ्यांक छ । ०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रुपैयाँ थियो ।
रेमिट्यान्स निरन्तर रूपमा बढेको, शोधनान्तर स्थिति बचतमा रहेको र विदेशी विनिमय सञ्चिति सबल अवस्थामा रहे पनि सरकारी खर्च बढ्न नसक्दा आन्तरिक अर्थतन्त्रमा समस्या कायमै रहेको अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।
‘गत साउनसम्म सरकारी ढुकुटीमा करिब २ खर्ब ८ अर्ब रुपैयाँ थुप्रिएको छ । निर्माण व्यवसायीले पैसा नपाएको गुनासो आइरहेको छ । सरकारले पैसा थुपारेर बस्नुको साटो दायित्व भुक्तानी गरेको भए अर्थतन्त्र चलायमान हुने थियो,’ उनले भने, ‘सरकारले जतिसक्यो पूर्वाधार क्षेत्रमा खर्च बढाउनुपर्छ । विकासमार्फत सरकारले बजारमा पैसा पठाउन सकेको भए ब्याजदर पनि घट्ने थियो ।’
रेमिट्यान्समार्फत २ खर्ब १६ अर्ब रुपैयाँ आएको छ, त्यो राम्रो हो यसले बजारमा तरलता बढाएको उनको भनाइ छ । संघीय सरकारले विकास खर्च बढाउँदा त्यसको सिको प्रदेश र स्थानीय सरकारले गर्ने भएकाले आर्थिक गतिविधि सुधारमा सहयोग पुग्ने उनले जनाए ।
०७९ साउनमा करिब १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति गत साउनमा करिब ३२ अर्ब ९० करोड रुपैयाँले बचतमा छ ।मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था जनाउने सूचक शोधनान्तर पछिल्ला महिनामा बढ्दो रेमिट्यान्स र घट्दो आयातका कारण बचतको अवस्थामा पुगेको हो । गत असारसम्म मुलुकको करिब ३ खर्ब रुपैयाँले बचतमा थियो । ०७९ असोजअघि १४ महिनासम्म शोधनान्तर स्थिति घाटामा थियो । रेमिट्यान्समा सुधार, आयातमा कमी र विदेशी सहायतामा वृद्धि भएकै कारण १४ महिनापछि ०७९ असोजमा पहिलो पटक शोधनान्तर स्थिति बचतमा गएको थियो । त्यसयता हरेक महिना शोधनान्तर बचतको रकम बढ्दै गएको प्रतिवेदनले देखाएको छ ।
शोधनान्तर बचतमा रहे पनि गत असारसम्म चालु खाता भने अझै घाटाकै स्थितिमा थियो । हरेक पछिल्ला महिनामा घाटा रकममा कमी आइरहेको थियो । यही क्रममा गत साउनमा मुलुकको चालु खाता बचतमा पुगेको छ । गत असारमा ७२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको चालु खाता गत साउनमा करिब १३ अर्ब रुपैयाँले बचतमा छ ।
विदेशी मुद्रा सञ्चिति पौने १६ खर्ब
गत साउनसम्म मुलुकको कुल विदेशी मुद्रा (विनिमय) सञ्चिति १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा साउनसम्ममा यस्तो सञ्चिति करिब २.२ प्रतिशतले बढेको हो । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो । गत साउनसम्म अमेरिकी डलरमा पनि विदेशी मुद्रा सञ्चिति १.२ प्रतिशतले बढेको छ । ‘अमेरिकी डलरमा कुल विदेशी मुद्रा सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा गत साउनसम्म १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड कायम भएको छ,’ प्रतिवेदनमा भनिएको छ । गत साउनसम्म मुलुकमा रहेको विदेशी मुद्रा सञ्चितिले १०.३ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ ।
मूल्यवृद्धि ७.५२ प्रतिशत
गत साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ७.५२ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ०.७२ प्रतिशत बिन्दुले कम हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि दर ८.९५ प्रतिशत थियो । गत साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर ८.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ६.४२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
‘खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२० रेस्टुरेन्ट तथा होटलको ११.०५ प्रतिशत, प्रतिशत, दुग्धपदार्थ तथा अन्डाको १२.१९ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले बढेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ, ‘सो अवधिमा घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.१३ प्रतिशतले घटेको छ ।’
गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.५५, शिक्षाको ९.१० र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.९३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार देखिए पनि आन्तरिक आर्थिक गतिविधि शिथिल छ । बैंकमा झन्डै साढे ३ खर्ब रुपैयाँ बराबर लगानीयोग्य रकम थुप्रिएको छ, कर्जा माग छैन, बजार माग घटेको छ, उद्योगहरूको क्षमता उपयोग घटेको छ भने निर्यात र विदेशी लगानी बढ्न सकेको छैन ।