सुनसरीको भोक्राहा नरसिंहमा दीपक खरिद बिक्री केन्द्रमा भीषण आगलागी, करोडौंको क्षति
बिजुलीको तार सर्ट भई आगलागी हुँदा ८०० मन जुट, १०० टन धान, ६० टन गहुँ र ८० टन मकै जलेर नष्ट, करिब डेढ करोडदेखि दुई करोड रुपैयाँसम्मको आर्थिक नोक्सानी
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ स्थित दीपक खरिद बिक्री केन्द्रको गोदाममा आज बिहान करिब ९:३० बजे आगलागी भएको छ। गोदाममा भएको यस भीषण आगलागीका कारण विभिन्न खाद्यान्न सामग्रीहरु पूर्ण रूपमा क्षति भएका छन्। संचालक दिनेश कुमार साहले गोदाममा रहेका ८०० मन जुट, १०० टन धान, ६० टन गहुँ, र ८० टन मकै गरी ठूलो परिमाणमा खाद्यान्न क्षति भएको बताएका छन्।
संचालक साहका अनुसार आगलागी बिजुलीको तार सर्ट भएर भएको अनुमान गरिएको छ। प्रारम्भिक मूल्याङ्कन अनुसार यस घटनाबाट करिब डेढ करोडदेखि दुई करोड रुपैयाँसम्मको नोक्सानी भएको जानकारी प्राप्त भएको छ। गोदाममा भण्डारण गरिएका खाद्यान्न सामग्रीमा आगो फैलँदा ठूलो मात्रामा धुवाँ र आगो निस्किएको थियो, जसका कारण आगो नियन्त्रणमा ल्याउन निकै कठिनाइ भएको जनाइएको छ।
आगलागीपछि स्थानीय बासिन्दा र सुरक्षा निकायका सहयोगमा र कोशी गाउँपालिका, बराहक्षेत्र नगरपालिकाका वारुण यंत्रको सहयोगमा आगो नियन्त्रणको प्रयास भए पनि, ठूलो परिमाणमा रहेको सामग्री जलेर पूर्ण रूपमा क्षति भएको छ। यस घटनाले कृषि र व्यापारिक क्षेत्रमा ठूलो असर पर्ने देखिन्छ। स्थानीय प्रशासन र सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने आगलागीका कारण अन्य व्यापारिक प्रतिष्ठानहरूलाई पनि सजग रहन आग्रह गरिएको छ।